म हुन्न; तपाईहरु मैत्रिपूर्ण प्रतिस्पर्धा गर्नोस : कोइराला नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेतामा आफ्नो इच्छा नभएको बताएका छन्। संसदीय दलको नेताका उम्मेदवारी घोषणा गरेका चार जनालाई शुक्रबार अपरान्ह आफ्नो निवास महाराजगन्जमा बोलाएर कोइरालाले स्वास्थ्यको कारण पनि आफू अब सक्रिय राजनीतिमा नलाग्ने बताए। कोइरालाले छलफलमा सर्वसम्मत रुपमा ससदीय दलको नेता चयन हुनुपर्नेमा जोड दिए पनि उम्मेदवारीमा कसैले पनि दाबी नछोडे मैत्रिपूर्ण प्रतिस्पर्धा गर्न आग्रह गरेको उप सभापति रामचन्द्र पौडेलले जानकारी दिए।
कांग्रेस संसदीय दलको नेतामा चार जनाले उम्मेदवारी दिने चर्चा भइरहेका बेला सभापतिले ती चारै जनालाई बोलाएका हुन्। चार जनामा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधान मन्त्री रामचन्द्र पौडेल, पार्टीका महामन्त्री केबी गुरुङ र सभासद् सुप्रभा घिमिरे छन्।यसअगाडि शुक्रबार बिहान घिमिरेलाई बोलाएर सभापति कोइरालाले उम्मेदवारीको विषयमा जिज्ञासा व्यक्त गरेका थिए। कोइरालाको उद्देश्य संसदीय दलको नेतामा सर्वसम्मत होस् भन्ने रहेको घिमिरेले जानकारी दिएकी थिइन् ।देउवाले शुक्रबार बिहान बुढानिलकन्ठस्थित आफ्नो निवासमा कांग्रेसका सभासद्हरुलाई बोलाएर संसदीय दलका नेताको उम्मेदवारी विषयमा छलफल गरेका थिए।
No comments:
Post a Comment