फिल्म हेर्न नजानेकै हो, सिकाइदिनुस् न प्लिज
By Salokya
तर यी अबुझहरुले यति चाहिँ बुझ्यौँ कि समीक्षकबाट फिल्ममेकर बन्दैमा सबै टुफो र गोडार्ड हुँदैनन्। गोडार्डले अर्थपूर्ण रुपमा प्रयोग गर्यो भन्दैमा ४० वर्ष पुरानो, अहिले विश्व सिनेमामा आउटडेटेड भइसकेको जम्प-कट प्रयोग गर्दैमा कुन नौलो कुरा भो र, कि हामीले नि गर्न सक्छौँ भनेर देखाएको हो? ती साइकोलोजिकल हैन फिजिकल एस्पेक्टमा गरिएका जम्प-कट के achieve गर्न प्रयोग गरिएको हो भनेरै बुझेनौँ हामीले त।
फिल्म बुझिएन भन्दा हेर्न नजानेको भनी उल्टै दर्शकलाई गाली गर्नुको साटो नबुझेको कुरा बुझाइदिए कति जाति हुन्थ्यो होला। म र मसँगै फिल्म हेरेका दर्शकहरुले नबुझेका यी कुरा कसैले त बुझाइदेला कि !
१) बिहेको आइडिया कसरी आयो ?
पहिलो पटक बन्दमा बस रोकिँदा लाहुरे बनेका दयाहाङ राईलाई कसरी बसभित्र नक्कली बिहे रच्ने आइडिया आयो, त्यो कतै देखाइएको छैन।एक्कासी उसलाई यस्तो आइडिया कसरी आयो- ब्यान्ड देखेर आयो कि, बिहेको लुगा कसैको देखेर आयो कि ? जबकि ऊ लाहुरे हो। भारतबाट भर्खर छिर्दैछ नेपाल। (लाहुरे भनेर पनि कुनै कुरा establish गरिएको छैन, जडिबुटी खुवाउने बूढाले एकैचोटी लाहुरे भाइ,
दार्जिलिङबाट आउनु भो भनेर मात्रै खुलाइएको छ)
‘यहाँ त यस्तै बन्द हुन्छ, ४२ दिनसम्म बन्द भएको अस्ति’ भन्ने बसकै बूढा यात्रुलाई त यस्तो आइडिया आउँदैन, उल्टै ‘बिहे भन्दैमा छाड्छ र’ भनेर प्रतिवाद गर्छ। लाहुरेलाई चैँ कसरी आएछ ?
कि फिल्ममा सबै कुरा आफै फुत्रुक फुत्रुक आउँछ। कुनै लजिक नै चाहिँदैन ?
२) गुड्दै नगुडेको बस किन बन्द गर्ने ?
त्यस्तै पहिलो पटक बस रोकिँदा गाडी गुडेको पनि छैन, स्टार्ट गरेको पनि छैन, अरु यात्रुलाई चढाएको पनि छैन। एक्कासी एक हुल केटाहरु बन्द गर,बन्द गर भन्दै कराउँदै बसमा आक्रमण गरौँला झैँ गरी आउँछन्। जबकि अरु गाडीहरु पनि त्यहाँ छन्। अरु गाडीतिर केही भा’को छैन। त्यो गाडीमा चाहिँ किन हो यस्तो ? त्यसमा कुनै लजिक देखिँदैन।३) ब्यान्डवालाहरु किन झर्न खोज्या, किन नझरी गएका ?
बसभित्र बिहेको नाटक गर्न सहयोग गरेका ब्यान्ड बाजा बजाउनेहरु झर्न खोजेको र यात्रुहरुले रोकेको देखाइएको छ। किन झर्न खोजेको स्पष्ट छैन। फेरि कति सजिलै नझरी सुरुसुरु बसमै बस्छन्। यसमा कुनै लजिक देखाउन निर्देशक असफल भएका छन्। झर्नुपर्ने ठाउँमा नझरी किन कोही मान्छे त्यसरी जता भन्यो त्यता जान्छन् ?फेरि फिल्मको अन्त्यमा चैँ पानी परेको बेला बसले काठमाडौँमा उनीहरुलाई छाडेर गएको देखाएर निर्देशकले ती पात्रहरुप्रति दर्शकले सान्त्वना देखाइदियोस् भन्ने चाहेका छन्।
तर ती ब्यान्ड बाजावालाहरु त आफै झर्नुपर्ने ठाउँमा नझरी आएका हुन् नि। उनीहरु आफैले निम्त्याएको दुःखमा हामी दुःखी हुन किन जरुरी ? निर्देशक आफैले त्यो ब्यान्डवालाहरुलाई मान्छेको रुपमा हैन, वस्तुको रुपमा व्यवहार गरेका छन्। मान्छेको रुपमा गरेको हो भने उनीहरुको पनि भनाई आउनु पर्थ्यो त्यहाँ, त्यो पटक्कै छैन। उनीहरुलाई जबर्जस्ती बसमा चढाइएको छ, बीचमा उनीहरुको दुर्दशा केही देखाइएको छैन। अनि एक्कासी लास्टमा पानीमा रुझाउँदैमा उनीहरुप्रति sympathy कसरी जन्मिन्छ ?
४) मोबाइलबाहेक अरु स्टोरीटेलिङ छैन ?
पूरै स्टोरीटेलिङ मोबाइलबाट गरिएको छ। यति सजिलोसँग मोबाइललाई नै कथा भन्ने माध्यम बनाइएको छ कि यसको पार्टनर एनसेल वा एनटिसी त हैन जस्तो लाग्छ। कथा भन्नलाई निर्देशकले अरु माध्यम खोज्ने प्रयासै गरेका छैनन्। सजिलो माध्यमका रुपमा मोबाइलै मात्र उपयोग गरिएको छ।५) ३६ घण्टा कि ६ दिन ?
कथाको समयसीमा तोकिनु नै गलत छ। सजिलैसँग सुरुमा दयाहाङलाई ३६ घण्टाभित्र श्रीमतीसँग भेट गर्न भनिएको छ। तर कथामा यति रात र दिन आउँछन् कि छ दिन लामो जस्तो देखिन्छ कथा।६) बस कसरी बिग्रियो ?
एउटा दृश्यमा बस बिग्रन्छ। कसरी बस बिग्रियो ? बस बिग्रनुअगाडि घच्याकघच्याक भएको, टायर पङ्कचर भएको, स्टार्ट गर्दा पनि बस नचलेको आदि केही देखाइएको छैन। खुत्रुक खुत्रुक सबै कुरा आफै भए जस्तो बस पनि यत्तिकै बिग्रेको छ। अझ अचम्मको कुरा, बस बिग्रँदा पनि यात्रुहरुलाई खासै टेन्सन देखिँदैन। बन्दमा पनि हामी फँस्ने, बस पनि हाम्रै बिग्रने भनेर सबै यात्रु टेन्सनमा परे जस्तो केही देखिँदैन। बस किन बिग्रियो पनि थाहा छैन,बिग्रँदा पनि केही भा’छैन। बस् बस बिग्रियो, बन्यो, गुड्यो।७) छोरी कसरी हरायो ?
बसमा बेहुली बन्ने सृष्टि घिमिरेको सेक्सै हुने गरी सौगात मल्लसँग सम्बन्ध छ। उसको अमेरिकामा एक जना ब्वाइफ्रेन्ड पनि छ। त्यो ब्वाइफ्रेन्डको अर्को अमेरिकी केटीसँग लभ छ भनेर जेलस भएकी जस्ती देखिन्छिन् घटना र संवादहरुले। त्यही भएर बदला लिन सौगातसँग लागेकी होला भन्ने यो अबोध, अबुझ दिमागले सोचियो। अमेरिकाबाट आएको केटासँग बिहे गर्न सृष्टि आमासँगै बसबाट काठमाडौँ आएकी हुन्छिन्। लास्टमा बसबाट झर्दा त छोरी पो हराउँछ गाँठे। छोरी किन हराई, कोसँग हराई, यो त अबुझको दिमागले भ्याउने कुरै भएन, कसरी हराई भन्ने त झनै थाहा पाइएन। आमाछोरी सँगै बसेर आएकी झर्दा धार्मिक टेलिसिरियलहरुमा अन्तर्ध्यान भए जस्तो गायब कसरी भई। अनि छोरी हराएको हो कि सुटकेस हराएको हो कन्फ्युजमा पार्ने गरी बसवालासँग आमाले झगडा गरेको दृश्य कति फन्नी !८) ऋचा किन नाङ्गै नुहाएकी ?
फिल्ममा ऋचा शर्माको क्यारेक्टर डान्सबारमा नाच्ने देखाइएको छ। छोरी पनि छिन् उनकी। ब्वाइफ्रेन्ड ड्राइभर हो। दृश्य र संवादहरुले बुझाएको कुरा यति हो। एउटा दृश्यमा ऋचा नाङ्गै नुहाउँछिन्। न कथाले माग्या छ, न अरु कसैले। नाङ्गै नुहाएको किन देखाउनु पर्यो ? विम्बको रुपमा प्रयोग गरिएको हो भने पनि कुनै एकदमै नराम्रो काम गरिसकेपछि त्यो पाप पखाल्न खोजेको वा पवित्र हुन खोजेको अर्थमा यसलाई देखाउने भन्ने हामी अबुझले जानेका हौँ। फिल्ममा त उनले नराम्रो काम गरेको जस्टिफाइ हुने गरी केही देखाइएको छैन। न त्यसपछि उनको स्टेट अफ माइन्डले यो जस्टिफाइ गर्छ। यो पनि बुझाइदिने हो कि !९) कर्माले आशा राखेको हस्पिटल कसरी थाहा पायो ?
अमेरिकाबाट बिहे गर्न फर्किएको पात्र कर्माले कार चलाउँदै गर्दा आशा मगरातीलाई ठोक्काएर घाइते बनाउँछ। आमाले जिद्दी गरेपछि कर्माले घाइतेलाई सडकमा अलपत्र छाडी भाग्छ। लौ यतिसम्म त अबुझले बुझ्यो। तर अर्को सिनमा कर्मा त औषधी पसलमा सलाइन पानी र औषधी पो किनिरहेका हुन्छन् त उनै आफैले घाइते बनाएको पात्रका लागि। अब हामी अबुझलाई यो बुझाइदिनुस् कि कर्माले आशालाई त्यही हस्पिटलमा राखेको भनेर थाहा चाहिँ कसरी पायो ? के काठमाडौँमा एउटा मात्रै हस्पिटल छ ? फेरि लास्टमा कर्मा किन किङ्ग्सवे तिर हिँडिरहेको देखाएको ? त्यो नि बुझिएन।१०) ओपन एन्डिङको के अर्थ ?
फिल्महरु ओपन एन्डिङ हुन्छन्, म मान्छु। त्यो एउटा कला हो। त्यसको पनि केही अर्थ हुन्छ। तर यसमा त मैले ओपन एन्डेड राख्नुको कुनै अर्थ भेटिनँ। अर्थपूर्ण रुपमा कुनै केसको ओपन एन्डिङ राख्नु र तर्कबिना जबर्जस्ती ओपन एन्डिङ थोपरिनुमा फरक हुन्छ।निर्देशकले यो सिनको अर्थ यो, त्यो सिनको त्यो, यो किन गरेको, त्यो किन गरेको भनेर धेरै तर्क दिन सक्छ। तर चुरो कुरो चाहिँ त्यो अर्थ हेर्ने दर्शकले ‘रिसिभ’ र ‘फिल’ गर्न सक्नुपर्छ। निर्देशकको काम तर्क दिने हैन, आफैले दृश्य, संवाद र सिचुएसनको माध्यमबाट त्यो तर्कलाई जस्टिफाइ गर्ने हो।
पाँच गीत, पाँच फाइट, मेलो ड्रामा, अपत्यारिलो हिरोइज्म नभयो भन्दैमा फरक धारको फिल्म उत्कृष्ट हुँदैन। ती एलिमेन्ट नहुनुमा आफैमा उत्कृष्टताको मापदण्ड हैन। फरक धारको फिल्म भन्दैमा त्यसको अवगुण नै नहुने त हैन नि। ती अवगुण कसैले केलाइदिए पो राम्रो फिल्म बन्छ। मूलधारमा चाहिँ गल्ती नै गल्ती देख्ने तर फरक धारकोमा चाहिँ चाकडी कै हिसाबले नराम्रोलाई नराम्रो पनि भन्न नसक्ने ? उल्टै दर्शकलाई नै गाली गर्ने, दर्शकले नै नबुझेको भन्ने आदि गरेर सबैले नाङ्गो बादशाहलाई लुगा लगाएको देख्ने आशा गर्ने हो भने त्यो संभव छैन। यस्तो व्यवहारले टुफो र गोडार्ड बन्न सकिँदैन। यसले उनीहरुले प्रवर्द्धन गर्दै आएको फरक धारको पनि विकास गर्दैन।
दुई प्रख्यात समीक्षकको समीक्षा पढ्नुस्
यज्ञश- हाइवेमा दीपक
दीपेन्द्र लामा- साँघुरोलाई फराकिलो बनाउने ‘हाइवे’
[पाठकहरु, तपाईँ-हामी अबुझ जो ठहरियौँ, तपाईँले पनि फिल्म हेर्नुभएको र केही यस्तै कुरा नबुझेको भए तल कमेन्टमा बाँड्न सक्नुहुन्छ।]
No comments:
Post a Comment