आज अचानक बिहान देखि सास फुलेर आएको छ। दमको रोगी जस्तै स्वा स्वा
बढ्न थालेको छ। मायोपिक आँखाले काम चलाउदै आएको धेरै भै’सक्यो तर आज आचानक
टाढा सम्म देख्न सक्ने नजर खुलेको छ। यो गर्मीमा पनि अचानक रगत चिसो हुन
थालेको छ। वा फेरी एक्कासी उम्लेर आए झै हुन्छ। मुटुको धड्कन ले आफ्नै
अनुहारमा चड्कन हाने झै मन भित्रै अन्तर्द्वन्द को समय छ। जे भए
पनि...असाधारण बिहानबाट सुरु भएको आजको दिन, समय भन्दा ढिलो जन्मेको छ।
मानौ सारै ढिलो बिहान भयो, अध्यारो बिहान। यो सब मलाई पहिले नै किन भएन।
अन्तिम घडि सम्म कुरेर बस्ने नराम्रो रोग लागेको छ मलाई। जब सम्म सबथोक
लथालिङ्ग हुँदैन, आफ्नै ओच्छ्यानको न्यानोमा लुटुपुटु परेर जीवनको
सुन्दरतालाई व्याख्या गरेर बस्ने एउटा अनौंठो प्राणीको रुपमा।सडकले रगत माग्दै छ रे। किन ?
यो कथा मेरो घर भित्रको मात्रै हुदो हो त लाग्ने थियो कि मेरै रगतमा कुनै खराबी रहेछ। बगाएकै ठिक सडक भरी।
तर जीवनको हजारौं वर्ष बितिसक्दा पनि मैले आफैलाई बुझ्न सकिन। ठिक र बेठिक छुड्याउन सकिन। गलत बाटो र सहि दिशामा भिन्नता भेट्टाउन सकिन। मेरो खुशी अरुको आशु बन्न सक्छ भनेर मानविय चेतनामा बाँच्न सकिन। यति धेरै उपार्जित ज्ञान र विवेकको खेती गरेर पनि जीवनलाई सरल र जिउन योग्य बनाउन सकिन। झन् झन् जटिलता थपियो तर गाँठो फुकाउन सकिन। यसरी त म क्षण प्रति क्षण मानव हुनु को परिचय गुमाउने होडमा लागीरहेको छु।
यो कथा मेरै मात्र हुदो हो त... यो रगत बगाएकै ठिक हुन्थ्यो सडक भरी।
थाहा छ किन झगडा गरिरहेका छौ हामी?
-बाटो छुट्टिएर। अर्थात हाम्रो समाज-देश-विश्वमा सबैको जीवनलाई व्यवस्थित र सहज बनाउने प्रक्रियामा कुन बाटो हिड्ने भनेर कुरा नमिलेकोमा। मुद्दा सारै सिधा छ। “सम्पुर्ण जाती, धर्म, लिङ्ग, इत्यादी का सम्पुर्ण मानिस, कसैलाई पनि नछुटाइकन यस्तो फर्मुला बनाउन पर्यो जुन धेरै लामो समय सम्म पनि विभेदकारी नहोस्।“ ( खैर, सबै मान्छेले एकआर्कालाई समान ठानिदिने कष्ट गरिदिएका भए यो मुद्दाको कुनै अर्थ रहने थिएन)। मुद्दा यति मात्रै हो, यसको कुनै आलोचना छैन, कुनै दोस्रो मत छैन। विमती छ त केवल एउटै कुरामा – सो गन्त्व्यमा पुग्नलाई बाटो कुन समात्ने भनेर। कोहि दाँया लागौं भन्छन् कोहि बाँया। यहि दाँया र बाँयाको चक्करमा विश्व भरी नै मान्छे ले मान्छेलाई आधा आधा गरेर च्यातिदिए। धर्तीलाई च्यातिदिए। विचारलाई च्यातिदिए। मानवता र मानवलाई च्यातिदिए।
भाषा र शैली जति नै जटिल भए पनि हजारौं वर्षको इतिहसले यहि भन्छ।
के गर्ने त? बगाइदिने हो रगत?
सहमती भनेको के हो?
मलाई थाहा छैन। तर आज हाम्रो सडकमा पनि उस्तै विवाद चर्केको छ। त्यस्तै अन्योल छ। यस्तोमा सहमती भनेको के हो? त्यहि हो जुन हजारौं वर्ष सम्मको भोगाई र इतिहासमा पनि मानव जातीले कहिलै गर्न सकेनन्। गरेको जस्तो मात्रै गरे अथवा गर्ने कोशीस चै गरे। सहमती गर्ने वाध्यात्मक परिश्थितीको श्रृजना गरियो। जुन पक्षले वाध्य तुल्यायो उसैको पोल्टो भारी हुने गरि सहमती गरियो। यस्तै पाराले आज हामी यहा सम्म आइपुगेका हौं। यसलाई जसरी बुझे पनि, जसरी व्याख्या गरे पनि। झगडामा सहमती तबसम्म हुँदैन जबसम्म एउटाले घुडा टेक्दैन। अथवा दुबै उत्तिकै बलियो भएर लँडाइको टुङ्गो भेटिदैन। ...यहि हो मान्छे हुनुको नियती।?
दिनभरीको अचेत सोचहरु, निद्रा- अनिद्रा, पट्यार लाग्दो यथार्थ, तुरुन्तै बिर्सिइने सपनाहरु, आशा नै निराशाको कारण हो- शून्यवादी सोच।
पहिले त मैले थाहा पाउनु पर्योकि ति च्यातिएका विचार मध्ये म कुन टुक्रा बोकेर हिडेको छु। केहि कुरामा समर्थन वा सहभागी हुनु भनेको के हो? झण्डा बोक्नू वा भिडमा सङ्ख्या थप्नू जत्तीको सरल कुरो त पक्कै हैन त्यो। अर्को बाटो हिड्न खोज्नेहरुलाई मारेर आफ्नो बाटो सफा बनाउने कि? (स्मरण रहोस बाटो फरक भए पनि गन्तव्य उहि थियो)। अथवा आफ्नै रगत बगाएर आफ्नो भागको विचारको सार्थकता प्रमाणीत गर्ने? वीर हुनूको परिचय दिन।
“हामी वीर छौं तर बुद्धु छौ। हामी वीर छौ र त बुद्धु छौं।
हामी बुद्धु नभइकन वीर कहिले हुन सकेनौ।“ यस्तै केही थियो भूपीले लेखेका।
यति धेरै भारी कुरा गरिरहनू पनि आवश्यकता छैन। फाइदा पनि छैन। पानी परिरहेको छ। हावा चलिरहेकै छ। सूर्यले उदाउन छाडेको छैन। रातमा ताराहरु नबिराइकन उगाउछन्। समय चलिरहन्छ, बगिरहन्छ। हजारौ वर्ष अघी देखी हजारौ वर्ष पछी सम्म। अनी मान्छेले बिगार्ने भनेको आफैले बनाएको भ्रमपुर्ण जिन्दगी मात्रै हो। त्यो भन्दा बढि शक्ती मान्छे सङ्ग हुँदैन।
आज म सङ्ग केहि प्रशनहरु सिबाए अरु केहि भएन। सिद्धान्त र इतिहासलाई छोडेर...
के म बोल्न सक्छु?
के म सुन्न सक्छु?
के म देख्न सक्छु?
आफ्नो व्यक्तीगत विचार र श्वार्थ भन्दा बाहिर पनि?
मलाई केहि थाहा छैन। अज्ञानवस, भुलवस...जे भने पनि। तर सबै भन्दा ठुलो क्रान्ती यहि प्रशनको उत्तर हुने थियो। सबै भन्दा ठुलो सहमती यहि हुने थियो। विचारहरुको जटिलताले हामीलाई धेरै पर सम्म हेर्न दिदैन। थुप्रै थरीका विचार र सिद्धान्तलाई मैले यहा छोएको सम्म छैन। छुदा पनि छुन्न।
आज बिहान उठ्ना साथ आफ्नो स्वास बढेकोले अलिकता झस्केको मात्रै थिए। अध्यारो मात्रै देखेको थिय।
चारैतिर अध्यारो मात्रै देखी रहेको छु म, भन्ठानेको थिय।...तर मैले आँखा नै पो खोलेको रहेनछु।
No comments:
Post a Comment