Friday, September 14, 2012

विश्वकप खेल्न पाउला त नेपालले ?

लिग च्याम्पियन बन्दै २ पटक पछार्‍यो अमेरिकालाई नेपालले

फुटबलको विश्वकप खेल्नु अझै सपना नै हो नेपालका लागि। तर क्रिकेटको विश्वकप भने नेपालले खेलिसकेको छ। कम्तिमा १९ वर्षसम्मका खेलाडीले खेल्ने विश्वकप भए पनि। वयस्कहरुकै विश्वकप नि? गाह्रो छ, तर असंभव छैन। फुटबल जस्तो धेरै धेरै नै टाढाको लक्ष्य पनि हैन। यो आशा जगाइदिएको हो विश्व क्रिकेट लिग डिभिजन ४ का भर्खरै सकिएका खेलहरुले।

चारैतिर निराशा नै निराशाका खबरहरुले गाँजिरहेको बेला नेपाली क्रिकेट टोलीले एकपछि अर्को गर्दै लिगका सबै खेलहरु र अमेरिकालाई हराएर फाइनलसमेत जित्दै विश्व क्रिकेट लिग डिभिजन ४ च्याम्पियन बन्यो। नेपाली क्रिकेटको यो अहिलेसम्मकै ठूलो सफलता हो भने नेपाली फ्यानहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो खुसी मनाएका हुन्। लगातार एकपछि अर्को गर्दै छ वटा खेलमा जितको उपहार दिएको छ हाम्रो राष्ट्रिय टोलीले।


व्यक्तिगत सफलतामा पनि नेपाली खेलाडीहरु अग्रस्थानमा रहे। बसन्त रेग्मीले प्रतियोगिता अवधिभर लिएका २१ विकेट सर्वाधिक थियो। अमेरिकाविरुद्ध सुवास खकुरेलले बनाएको ११५ रन र डेनमार्कविरुद्ध अनिल मण्डलले बनाएको ११३ रन प्रतियोगितामा कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत रनमध्ये सबैभन्दा बढी थियो।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले, दोस्रोमा तान्जानियालाई ८ विकेटले, तेस्रोमा मलेसियालाई १० विकेटले, चौथोमा अमेरिकालाई ३२ रनले र पाँचौँमा डेनमार्कलाई २५ रनले जित्यो। नेपालले डेनमार्कलाई हराएको भएर रनरेटको आधारमा फाइनलमा पुगेको अमेरिकालाई फेरि नेपालले ८ विकेटले पराजित गर्‍यो आज।

कतिले भन्लान्, यो अमेरिकालाई हराउनु कुन ठूलो कुरा हो र, अमेरिकीहरुलाई क्रिकेट भनेको थाहै छैन। त्यसो हैन। अमेरिकी टोलीमा भारतीय र पाकिस्तानी खेलाडीहरु छन्। सुशील नादकर्नी नामको अमेरिकी टिममा खेल्ने खेलाडी त भारतको यु १९ विश्वकपमा खेलिसकेका हुन्। डेनमार्कको टोलीमा पनि भारतीय र पाकिस्तानी मूलका खेलाडीहरु छन्। अझै उनीहरु र डेनमार्क त डिभिजन ३ बाट घटुवा भएर डिभिजन ४ मा आइपुगेका टिम हुन्। यस्ता टिमलाई नेपाली टोलीले सजिलै हराउनु भनेको चानचुने सफलता हैन।

यो सफलतासँगै नेपाल डिभिजन ३ मा बढुवा भएको छ। यत्तिकैमा विश्वकप खेल्न पाउने भने हैन। ढोका भने खुलेको छ। विश्वकपसम्म पुग्नका लागि अझै कठिन चुनौतिहरु छन्।

अब नेपालको लक्ष्य अर्को वर्ष २८ अप्रिलदेखि बर्मुडामा हुने डिभिजन ३ को लिगमा यसैगरी जितेर टप २ मा पुग्नु हुनेछ। डिभिजन ३ मा नेपाल र अमेरिकासँगै ओमान र इटाली हुनेछ। त्यसैगरी डिभिजन २ बाट घटुवामा परेका युगान्डा र आयोजक देश बर्मूदासँग नेपालले खेल्नुपर्नेछ। त्यसैले चुनौति कठिन छ। उनीहरुलाई हराएर टप २ मा पर्न सके मात्र नेपाल सन् २०१४ मा हुने विश्व कप क्रिकेटको छनौट चरण खेल्नका लागि छनौट हुनेछ। यसमा १० टिम हुनेछन्। पपुवा न्युगिनी र हङकङ छनौट भइसके। दुई टिम डिभिजन ३ को फर्स्ट र सेकेन्ड हुनेछन् र बाँकी ६ स्थान इन्टरकन्टिनेन्टल कपमा क्रमशः तेस्रोदेखि आठौँ स्थान बनाउनेहरुले पाउनेछन्।
एक वर्षभन्दा कम समय छ। अहिलेदेखि नै राम्रा देशका टिमहरुसँग अभ्यास खेल खेलाउन सके नेपालले पक्कै विश्वकप खेलेको हामीले हेर्न पाउनेछौँ। हात्ती पोलोको विश्वकप बाहेक नेपालले विश्वकप खेल्न सक्ने खेल भनेको शायद् क्रिकेट नै हुनेछ।

फुटबल ? फुटबलमा भइरहेका लगानी र नतिजाहरु तपाईँसामु छ। लगानीको हिसाबले फुटबलको दाँजोमा क्रिकेटमा केही पनि भएको छैन। तर नतिजा भने क्रिकेटले नै राम्रो दिइरहेको छ। सीमित स्रोत साधनका बीच पनि नेपाललाई सफलताको शिखरमा पुर्‍याउने नेपाली टोलीका सबै बधाईका पात्र छन्। डिभिजन चारको अपराजित यात्राका लागि हामी सबैले उनीहरुको प्रशंसा गर्दै धन्यवाद दिनैपर्छ।
सुवास खकुरेल। फोटोः आइसीसी






















 फोटो भिडियो हेर्नुस्-

No comments:

Post a Comment