Thursday, September 27, 2012

‘हात हल्लाएर गुहार माग्दै थिए’

सीता एयर विमान दुर्घटना
‘हात हल्लाएर गुहार माग्दै थिए’

“विमान भूईमा खसेर पड्कियो । आगो बल्न थाल्यो । विमान भित्रका यात्रुहरु चिच्याउन कराउन थाले । बचाउन गुहार माग्न थाले । बेतोडसँग भुईँमा खसेको विमान भित्रबाट कसैले हात हल्लाएर गुहार माग्दै थियो । तर केही गर्न सकिएन । हेर्दाहेर्दै आँखै सबैजना जले ।”

शुक्रबार बिहान भक्तपुरको मनोहरा खोला किनारमा भएको विमान दुर्घटनाका एक प्रत्यक्षदर्शी कालेन्द्र रम्तेलको भनाई हो यो । मर्निङवाक जाँदै गरेका उहाँले विमान ढलपल ढलपल गर्दै तलतल आएको र के भो भनेर हेर्दाहेर्दै भूईमा खसेको बताउनुभयो । ‘विमानस्थल तर्फ नै मोडिन खोजेको विमान ठूलो आवाज गरेर पड्कियो र आगो बल्यो म आत्तिए’, उहाँले भन्नुभयो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान ६ बजेर १५ मिनेट जादा सोलुको लुक्लाका लागि उडेको सीता एयरको नाईन एन ए एच ए डोर्नियर विमान भक्तपुरको मध्यपुरथिमि नगरपालिका १६ मनोहरा खोला नजिकै सुकुम्बासी बस्तीको छेऊमा खसेर दुर्घटना हुँदा १९ जनाको ज्यान गयो ।


विमान खसेको प्रत्यक्ष देख्नेहरु आत्तिए । दुर्घटनास्थलमा रुवाबासी चल्यो । विमान भित्रका यात्रु जलेको देखेर मन थाम्न नसक्नेहरुको आँखाबाट आँसु बगिरह्यो ।

दुर्घटनास्थल नजिकै रहेको सुकुम्बासीबस्ती निवासी तुलसा कार्की धेरैबेर आफ्नै आखाले देखेको भयानक दुर्घटनाबारे बोल्न सक्नुभएन ।

‘म घर पछाडि बारीमा तरकारी टिप्दै थिए । विमान म भएतिरै आयो । म आत्तिएर अलि पर गएँ । तर घुम्न खोजे जस्तो लागेको विमान त मेरै अगाडि खस्यो । विमान भित्रका यात्रुहरुको चिच्याहट, रुवाई र हात हल्लाएर मागेको गुहारको अगाडि म एक्लैले के गर्न सक्थे र ? हेर्दाहेर्दै सबै जले ।’ रसाएका आँखाले उहाँको पीडा झल्काई रहेको थियो ।

उहाँका अनुसार आत्तिएर चिच्याइरहेका यात्रुहरु सबै विमानको पछाडि भागमा एकै ठाउँमा जम्मा भएर रोईरहेका थिए, कराईरहेका थिए । ‘एकै ठाउँमा जलेर होला, धेरैजसो यात्रुको शव एकै ठाउँमा डल्लो परेको थियो । लाशमाथि लाश थियो’, उहाँले भन्नुभयो ।


२५ मिनेट पछि मात्र दमकल आईपुग्यो

बस्तिकै देवान राई भन्नुहुन्छ – ‘विमान घर नजिकै आएर खस्यो । मैले त बस्ति मै आयो भन्ठानेको थिए तर वस्तिको एकसय मिटर पर नै खस्यो । विमान खसेको करिब २५ मिनेट पछि मात्र दमकल आईपुग्यो । त्यो पनि खोलापारी भएकाले आउने बित्तिकै पानी हाल्न सकेन । जब दमकलले पानी हालेर निभाउँदा सम्म कोही बाँच्न सक्ने अवस्था थिएन । दमकल र उद्धार टोली १५ मिनेट अगाडि मात्र आएको भए आधा यात्रु बाँच्न सक्ने थिए । राजधानीको यति नजिक विमान दुर्घटना हुँदा पनि दमकल र सुरक्षाकर्मी झण्डै आधाघण्टा पछि आईपुगे । त्यतिखेरसम्म विमान जलिसकेको थियो ।’

प्रत्यक्षदर्शीका अनुसार चालकले दुर्घटना हुने थाहा पाएपछि वस्तितर्फ आएको विमान घुमाउन सफल भए । विमानस्थल पूग्न नसक्ने थाहा पाएर विमानलाई खोलामा खसाल्न खोजेका थिए ।

मनोहरा सुकुम्वासी बस्तीका प्रकाश तामाङ भन्नुहुन्छ – ‘म शौचालय गएर बाहिर निस्कँदा त विमान आफूतिर पो आईरहेको देखेँ । अब मरियो भन्ने लागेको थियो । चालकले आफू मरेर पनि सुकुम्बासी बस्ति जोगाए र बाँचियो ।’

‘हामीलाई त नयाँ जीवन पाए जस्तो लागेको छ’, बस्तिकै बासिन्दा घटनाका प्रत्यक्षदर्शी तीलकुमारी राईले भन्नुभयो, ‘विमान वस्ति मै खस्छ भन्ने लाग्यो । वस्तिमा खेसेको भए सयौँको ज्यान जानसक्थ्यो । बस्ति खरानी हुन्थ्यो तर चालकले वस्तिलाई जोगाए ।’

सम्बन्धित समाचारः

सीता एयरको विमान दुर्घटना (तस्बिरहरु सहित)

विमान दुर्घटनामा ज्यान गुमाउने ७ नेपाली, ७ वेलायती, ५ चिनियाँ

विमान चरासँग ठोक्किएको पुष्टी

विमान दुर्घटनाबारे अध्ययन गर्न छानविन आयोग गठन

No comments:

Post a Comment