Monday, April 30, 2012

सिडनीमा २५ करोडमा नेपाली सामुदियक भवन बनाइने


सिड्नी (अष्ट्रेलिया), चैत्र १४ - 
अष्ट्रेलियाको सिडनीमा बसोबास गर्दै आएका नेपालीले नेपाली भाषा, संस्कृति र पहिचानलाई जीवित राख्नका लागि नेपाली सामुदायिक केन्द्र नामक संस्था दर्ता गरेका छन् । सन् २०१० मा अष्ट्रेलियाको कानुनअनुसार दर्ता भएको यस संस्थाको २४ मार्चमा बसेको पहिलो साधरण सभाको बैठकले सिडनीको उपयुक्त ठाउँमा जग्गा खरिद गरी नेपाली सामुदायिक भवन बनाउनका लागि ३० लाख अष्ट्रेलियन डलरको बजेट पारित गरेको छ । सिडनीको ग्रान्डभिलमा भएको साधरण सभामा अष्ट्रेलियाको धनाढय व्यवासायी शेष घले लगायत अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली व्यवसायी, विद्यार्थी, पेशाकर्मी तथा विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । उक्त सभाले प्रदीप खडकाको नेतृत्वमा १४ सदस्यीय कार्यकारी समिति चयन गरेको छ । सभाले आगामी दुई वर्षभित्र सामुदायिक भवन बनाउने लक्ष्य लिएको छ । सामुदायिक भवन निर्माणका लागि हालसम्म १ सय ३० जनाले सेयरखरिद गरिसकेका छन् जसबाट ५ लाख डलर जम्मा भइसकेको छ । जसमध्ये अष्ट्रेलियाको मेलवर्नमा रहेका धनाढय नेपाली व्यवसायी शेष घलेले १ लाख डलर, सामुदायिक केन्द्रका हालका अध्यक्ष तथा प्यासेफिक कलेज अफ टेक्नोलोजिका सञ्चालक प्रदीप खडकाले ५० हजार डलर बराबरको सेयर लगानी गरेका छन् । बाँकी रकम जुटाउनका लागि केन्द्रले अष्ट्रेलियामा बसोबास गर्दै आएका विभिन्न तहका नेपालीसँग सेयर लगानीका लागि आह्वान गर्ने लक्ष्य लिएको छ । अष्टेलियाको कानुनअनुसार दर्ता भएको यस संस्था सीमित परीधिभित्र रही व्यावसायिक गतिविधि गर्ने अनुमति पनि प्राप्त गरेको छ । यसको सञ्चालन तथा पूर्णअधिकार यसका सेयरदाता सदस्यमा रहने छ भने सामुदायिक केन्द्रले सञ्चालन गर्ने विभिन्न व्यावसायिक गतिविधिबाट प्राप्त हुने आम्दानीको लाभांश सेयरदाताले प्राप्त गर्ने छन् ।
केन्द्रका एकजना सेयर होल्डर तथा अष्ट्रेलियका नेपाली पत्रका सम्पादक भन्छन् चन्दा मागेर यति धेरै रकम जुटाउन गाह्रो पर्ने भएकाले सेयर लगानीको अवधारणा ल्याइएको हो आफूले सेयर लगानीबाट प्रतिफलको आशाभन्दा पनि सामुदायिक कामका लागि सहयोगको भावनाले सेयर खरिद गरेको हो ।
सामुदायिक केन्द्रका हालका अध्यक्ष प्रदीप पौडेललेले यस केन्द्र स्थापनाको उद्देश्य प्रस्टयाउँदै भने, हिजोसम्म नेपालीलाई काम कता पाइएला भन्ने चिन्तामात्र थियो, त्यसपछि अष्ट्रेलियाको स्थायी बसोबासको चिन्ता हुनथाल्यो अब आफ्नो पहिचानको चिन्ता हुन थालेको छ । भोलिका सन्ततीले आफनो पुर्खौली भाषा, संस्कति खोज्न चाहेमा यस सामुदायिक भवनमा आए पुग्छ ।
एनआरएनए अष्ट्रेलियाको अध्यक्ष गणेश के.सीले एनआरएनए अष्ट्रेलियाले सन् २००६ देखि नै यस्तो खाले भवन बनाउने सोच राखे पनि अहिले आएरमात्र यो सोचले मूर्त रुप पाएको  र एनआरएनएले संस्थागत रुपमा नै यस अभियानलाई सघाउने तथा सहकार्य गरेर जाने बताए । उनका अनुसार उक्त सामुदायिक भवनमा पुस्ताकालय, सभा हल, नेपाली कला संस्कृती भल्किने विभिन्न कलाकृति पनि निर्माण गरिने छन् भने आय आर्जनका लागि नेपाली रेष्टुरेष्ट, बार लगायत अन्य व्यावसायिक गतिविधिका लागि भाडामा लगाउने ठाउँ बनाइने भएको छ ।
करिब २ घण्टासम्म चलेको उक्त साधरण सभाले शेष घले, प्रदीपकुमार ढकाल, ध्रुव सुवेदी, ओम ढुगेल, नारायण कुमार प्रधान, शमशेर सिंह थापा, दीपककुमार खडका, इन्द्र वन, चन्द्र योञ्जन, भवानीप्रसाद ओली, देव बहादुर गुरुङ, श्री चन्दन नपित, पदमलाल सापकोटा, गोवा कटुवालको १४ सदस्यीय कार्यकारी समिति चयन गरको छ ।
–दीपक भेटवाल

No comments:

Post a Comment