नेपाली पनि अष्ट्रेलियाको सामुदायिक भाषा ?
सिड्नी- अष्ट्रेलियन माइग्रेसन तथा सेक्रेटरी लवरी फरगुसनले जनसंख्या र बसोवास मापदण्डको आधारमा नेपाली भाषालाई पनि अष्ट्रेलियन सामुदायिक भाषा सरह मान्यता दिन सकिने बताएका छन् । मानवअधिकार तथा लोकतान्त्रिक नेपाली मञ्च अष्ट्रेलिया -न्यूरेडिप) को दोस्रो अधिवेसनमा आयोजित कार्यक्रममा फरगुसनले उक्त जानकारी दिएका हुन् । उनले नेपाली समुदायलाई प्रोपगण्डाको आधारमा नभई आफनो एकिन संख्या आधिकारिक रुपमा प्रकाशमा ल्याउन पनि सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि युवा नेता तथा सभासद् गगन थापाले राजनीतिक दलहरुबीच सहकार्य र सहमति विना नेपालमा नयाँ संविधान बन्न नसक्ने औल्याउदैं नेपालमा एउटा पार्टीको जय र अर्काको पराजय कहिल्यै नहुने मार्ग आपनाए पनि राजनीतिक दलहरुबीच एकता कायम हुन नसक्दा सबै युवाहरुमा वितृष्णा जागेको बताए । 'कि सबैले जित्छौ कि सबैले हार्छौं तर त्यो बाटो समाउन सकिएन' थापाको गुनासो थियो । उनले भने,'नयाँ संविधान बन्न अब ९ महिनामात्र वाँकी छ, तपाई गैर आवासीय नागरिकहरुले पनि राजनितिक दलहरुलाई झकझकाउने बेला यहि हो ।' नागरिक संविधानसभाको मैलिक अधिकार समितिका सदस्य समेत रहेका थापाले अब बन्ने नयाँ संविधानमा ६५ वटा मौलिक अधिकार समेटिन लागेको बताउदै गैर आवासीय नागरिकलाई दोहोरो नागरिकता दिने सम्बन्धमा तयारी भैसकेको तर त्यस्तो नागरिकले नेपालमा अरु नेपाली सरह अधिकार पाए पनि भोट दिन र चुनावमा उठ्न भने नपाउने सर्त रहेको जानकारी दिए । थापाले शीर्ष नेताहरुलाई देशको चिन्त्ाा भन्दा पनि आफनो चुनाव क्षेत्र गुम्छ कि भन्ने चिन्ता बढी भएको प्रसंग उल्लेख गर्दै भने, 'नयाँ संविधान बनेपछि मलाई राजनीतिबाट विदा लिनुपर्छ भनेर कसैले भन्छ भने म राजी छु । म मेरो बाख्रा पालन र कुरिलो खेतीतर्फ लाग्न सक्छु ।' कार्यक्रममा अष्ट्रेलियास्थित नेपाली राजदूत योगेन्द्र ढकालले एउटा मात्र भाषाको एकाधिर अन्त्य हुनुपर्ने बताउदैं आगामी वर्ष नेपाल र अष्ट्रेलियाबीच दौत्य सम्बन्ध गाँसेको ५० औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको बताए । कार्यक्रममा के नेपाल असफल राष्ट्र हो त भन्ने विषयमा डा. होम मूर्ति पन्तले कार्यपत्र प्रस्तुत गरे । उक्त कार्यपत्रले नेपालमा राजनीतिक हस्तक्षेप र दण्डहीनतालाई मुख्य समस्या देखाएको थियो । उनले नेपालको राजनीतिक अवस्था र निकासमा वारेका अबलम्बन गर्न सकिने प्रसस्त मार्गहरु पनि औल्याइदिएका छन् । उक्त कार्यक्रममा मातृभाषा जन्मसिद्ध अधिकार विषयमा होम पाण्डेले कार्यपत्र प्रस्तुत गरेे । कार्यपत्रमाथि डा. कृष्ण हमालले टिप्पणी गरेका थिए । उक्त कार्यक्रममा एसियन गोभरमेन्सका सामूदायिक जनसम्पर्क अधिकृत मार्क ल्याकले नेपाली भाषा विकासमा आफ्नो सहयोग रहने बताए । सो कार्यक्रममा गोर्खा नेप्लीज कम्युनिटीका अध्यक्ष डा. नारायण प्रधान ,नेप्लीज अष्ट्रेलियन एसोसियनकी अध्यक्ष इन्द्रा वन,आदिवासी जनजातिका अध्यक्ष गणेश तामाङ्ग, एन आर एन अष्ट्रेलियाका अध्यक्ष धु्रब सुवेदी, लोकतान्त्रिक नेपाली मञ्चका अध्यक्ष हरी लामिछाने , नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरमका अध्यक्ष डिल्ली ढकाल, जनप्रगतिशिल मञ्चका अध्यक्ष हिमलाल गैरे ,समाजसेवी तथा न्यूरेडिपका संल्लाहकार भवानी ओली, एन एस डब्लुका जनरल काउन्सीलर दिपक खड्का, महिला अधिकारवादी इन्दु गौतम लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए । 'भाषा माथिको अधिकार जन्मसिद्ध मानव अधिकार' नाराका साथ सम्पन्न उक्त अधिवेशनले सर्वसम्मतबाट रमेश पाण्डेलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा चित्र लिम्बु, महासचिवमा होमनाथ पाण्डे, सचिवमा दिनेश पहाडी, कोषाध्यक्षमा शुधाम्सु शाह, सदस्यहरुमा चर्तुभुज खरेल, सन्तोष लामा, उत्तम निरौला, उषा नेपाल, अनिता अधिकारी आले, चयन भएका छन् ।